गत आर्थिक वर्ष २०८१/८२ को मुनाफा आधारमा एभरेष्ट बैंक सबैभन्दा बढी लाभांश दिन सक्ने अवस्थामा देखिएको छ। बैंकले यस वर्ष सेयरधनीलाई ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमतामा रहेको छ। अघिल्लो वर्ष २८.०६ प्रतिशत क्षमतामा रहे पनि बैंकले त्यतिबेला १५.५३ प्रतिशत (५.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस) मात्र लाभांश दिएको थियो।
एभरेष्ट बैंकले गत आवमा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो। वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ छ भने चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ।
यसपटक सानिमा बैंकको लाभांश क्षमता पनि दोब्बर बढेर २०.४७ प्रतिशत पुगेको छ। अघिल्लो आवमा यो क्षमता १०.६६ प्रतिशत मात्र थियो। सानिमाले गत वर्ष २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा र २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ वितरणयोग्य नाफा कायम गरेको छ। बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ हो।
दोहोर अंकको लाभांश दिन सक्ने अन्य बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड (१९.८५%), कृषि विकास (१८.४२%), नबिल (१७.६४%), प्राइम (१४.३३%), ग्लोबल आइएमई (१४.११%), सिद्धार्थ (१३.२२%), लक्ष्मी सनराइज (१२.३४%), नेपाल एसबिआई (११.२९%) र एनएमबि (१०.४१%) रहेका छन्।
यस बाहेक माछापुच्छ्रे (९.२३%), सिटिजन (५.२५%), प्रभू (४.४४%), राष्ट्रिय वाणिज्य (१.९४%) र नेपाल इन्भेष्टमेन्ट मेगा (१.४४%) ले एकल अंकको लाभांश मात्र वितरण गर्न सक्ने देखिन्छ।
यता, कुमारी, हिमालयन, एनआइसी एशिया र नेपाल बैंक भने नाफामा भए पनि वितरणयोग्य नाफा ऋणात्मक भएकाले यस वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्।