भक्तपुरमा चेम्बरको हीरक जयन्तीमा घिन्ताङ घिसी पर्व सम्पन्न

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा नेपाल चेम्बर अफ कमर्स भक्तपुरले स्थानीय लायन्स क्लबहरुसँग सहकार्य गरी ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको घिन्ताङ घिसी कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती मूल समारोह समितिका सभापति तथा चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ र पूर्वअध्यक्ष राजेन्द्र मल्लले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटनपछि भक्तपुर शहर परिक्रमा सहित परम्परागत नेवारी संगीत, नृत्य र भेषभूषाले वातावरण उत्सवमय बनेको थियो।

सभापति श्रेष्ठले घिन्ताङ घिसी भक्तपुरको ऐतिहासिक सम्पदा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान दिने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले आर्थिक विकाससँगै संस्कृतिको संरक्षणलाई पनि चेम्बरले प्राथमिकतामा राखेको स्पष्ट गरे।

कार्यक्रममा चेम्बरका पदाधिकारी, उद्योगी व्यवसायी, लायन्स क्लबका प्रतिनिधि तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरुले नेवारी परम्परागत वाद्यवादन र नृत्य प्रस्तुत गर्दै ऐतिहासिक शहर भक्तपुरलाई अझ जीवन्त र आकर्षक बनाएका थिए।

भक्तपुर चेम्बर अफ कमर्सका पदाधिकारीहरुले यस किसिमका सांस्कृतिक गतिविधिले स्थानीय तहमा पर्यटन प्रवर्द्धन र सामाजिक सद्भाव अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।