नेपाली सेयर बजारले गत आर्थिक वर्ष २०८१/८२ मा ऐतिहासिक फड्को मारेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेप्से सूचकाङ्कदेखि बजार पुँजीकरणसम्मका प्रमुख सूचकहरूमा उल्लेख्य वृद्धि देखिएको हो ।
आँकडाअनुसार अघिल्लो वर्षको असार मसान्तमा २,२४०.४१ विन्दुमा रहेको नेप्से सूचकाङ्क गत असार मसान्तसम्म आइपुग्दा २,७९४.७९ विन्दुमा पुगेको छ । यससँगै धितोपत्र बजार पुँजीकरण पनि अघिल्लो ३५ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँबाट बढेर ४६ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
यो वृद्धिसँगै बजार पुँजीकरणले कुल गार्हस्थ उत्पादन (जीडीपी) को ७६.२५ प्रतिशत ओगटेको छ । अघिल्लो वर्षमा यो अनुपात ६२.२५ प्रतिशत मात्रै थियो ।
बैंकिङ र वित्तीय क्षेत्रमा वर्चस्व
नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । तीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको वर्चस्व रहँदै आएको छ । कुल बजारको ५४.१ प्रतिशत हिस्सा यस क्षेत्रको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय क्षेत्रका १३२ कम्पनी सूचीकृत छन् ।
गत आर्थिक वर्षमा यस क्षेत्रका ५९ करोड ४२ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ, जसको मूल्य ४ खर्ब ८७ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबर रहेको छ । सुरक्षित लगानी, नियमित लाभांश वितरण र स्थायित्वका कारण यस क्षेत्रमा लगानीकर्ताको चासो उच्च देखिन्छ ।
जलविद्युत क्षेत्रको आकर्षण
बैंकिङपछि सबैभन्दा ठूलो हिस्सा जलविद्युत क्षेत्रको हो । हालसम्म ९१ जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत छन् । यस क्षेत्रको बजार हिस्सेदारी १५.३ प्रतिशत छ । कारोबार रकमका आधारमा भने हाइड्रोपावर क्षेत्र लगानीकर्ताको प्रमुख आकर्षण बनेको छ ।
गत वर्ष मात्र यस क्षेत्रमा २ अर्ब ६ करोड ४६ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । यसको मूल्य करिब ८ खर्ब २२ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ बराबर रहेको छ । सरकारी प्राथमिकता, लगानी विस्तार र उत्पादन क्षमतामा वृद्धिले गर्दा हाइड्रोपावर लगानीकर्ताका लागि अब्बल विकल्प बन्दै गएको देखिन्छ ।
अन्य समूहको योगदान
धितोपत्र बजारमा लगानी समूहका ७ कम्पनी छन्, जसको योगदान ७.७ प्रतिशत छ । उत्पादन तथा प्रशोधन उद्योग समूहका २३ कम्पनी सूचीकृत छन्, जसको हिस्सा ५.४ प्रतिशत छ । गत वर्ष यस समूहका १ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
व्यापार समूहका ४ कम्पनी र होटल समूहका ७ कम्पनी सूचीकृत छन् । यी समूहहरूको योगदान क्रमशः ५ प्रतिशत र २.७ प्रतिशत रहेको छ । बाँकी अन्य समूहहरूको योगदान ९.८ प्रतिशत छ ।
समग्रमा, गत आर्थिक वर्ष नेपाली सेयर बजारको लागि ऐतिहासिक वर्ष बनेको छ । बजार पुँजीकरण ४६ खर्ब नाघ्नु र नेप्से सूचकाङ्क २,७९४ विन्दुमा पुग्नु यस क्षेत्रको बढ्दो विश्वास र लगानीकर्ताको सक्रियताको प्रतिबिम्ब हो ।