पछिल्लो २४ घण्टामा अफगानिस्तान लगातार भूकम्पले प्रभावित भएको छ । शुक्रबार बिहानै ४.९ म्याग्निच्युडको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
यसअघि बिहीबार राति क्रमशः ५.८ र ४.१ म्याग्निच्युडका दुई भूकम्प गएका थिए । स्थानिय समय अनुसार पहिलो भूकम्प राति १०ः२६ बजे ५.८ म्याग्निच्युडको थियो भने दोस्रो ११ः५८ बजे ४.१ म्याग्निच्युडको मापन गरिएको थियो ।
यसैबीच, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कुनार र नंगरहार प्रान्तमा भूकम्प प्रभावित क्षेत्रका लागि आपतकालीन राहत पठाएको छ । पछिल्लो विवरण अनुसार, भूकम्पमा एक हजार चारसय भन्दा बढीको ज्यान गइसकेको छ भने तीन हजार भन्दा बढी घाइते भएका छन् ।
प्रारम्भिक राहत सामग्रीमा खाद्यान्न र बिस्कुट समावेश गरिएको छ भने थप सामग्री र कर्मचारी लैजाने उडान तयारीमा रहेको डब्लुएफपीले जनाएको छ । डब्लुएफपीका क्षेत्रीय निर्देशक हेराल्ड मानहाड्र्टले प्रभावित क्षेत्रमा घर ध्वस्त, बाटो नष्ट, भूस्खलन र मानवीय क्षतिको वर्णन गर्दै उद्धार चुनौतीपूर्ण बनेको बताएका छन् ।
भारतीय विदेश मन्त्री एस. जयशंकरले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत भारतको भूकम्प सहयोग काबुल पुगेको जानकारी दिएका थिए । भारतले २१ टन राहत सामग्री पठाएको छ ।
जसमा कम्बल, पाल, स्वास्थ्य सामग्री, पानी ट्याङ्की, जेनेरेटर, भान्साका भाँडा, पानी शुद्धीकरण उपकरण, औषधि, ह्विलचेयर, हाइजिन किट र अन्य अत्यावश्यक सामग्री रहेका छन् ।