कमलमा विराजमान श्रीहृश्री जस्ता बीज मन्त्रले आशीर्वाद दिनुहुने महालक्ष्मी माताको जय, वहाँ माताको याद मात्र गर्नाले सबै प्रकारको प्रसाद र आशीर्वाद प्राप्त हुन्छ।
हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना ।
प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिर झीर गरिरहेको छुरछुरे झिर झीरे, आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो ।
आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ ।
केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ ।

