अमेरिकाबाट आएका छोरा र बुहारीमाथि बुवाको खुकुरी प्रहार

काठमाडौंको थलीमा एक बुबाले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्।

बुधबार बिहान कागेश्वरी नगरपालिका–५ थलीमा बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

५३ वर्षीय विष्णु उप्रेतीले आफ्ना ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन्।

रूबिस र मनिता अमेरिकाबाट हालसालै दसैं मनाउन काठमाडौं आइपुगेका हुन्।

बुधबार बिहान घरायसी विवाद हुँदा बुबा विष्णुले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट छोराको पाखुरा, खुट्टा र बुहारीको औंलामा चोट लागेको छ।

छोराले आफ्ना कुरा नसुनेको निहुँमा विष्णुले खुकुरी प्रहार गरेका हुन्।

घाइते दुवै जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले बुबा विष्णुलाई नियन्त्रणमा लिएको छ।