डेलिभरीको क्रममा ज्यान गुमाएकी मीना राईको पार्थिव शरीर श्रद्धाञ्जली लागि ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको प्राङ्गणमा राखिने भएको छ ।
मौसममा सुधार आएसँगै पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने मृतकका दाइ राजेश राईले बताए । उनका अनुसार मीनाको शव आजै खोटाङ लैजाने तयारी गरिएको छ ।
जनआस्थासँग कुराकानीका क्रममा उनले भने,‘बहिनीको दाहसंस्कार जन्मेको स्थानमै गर्ने परिवारिक निर्णय गरेका छौं । त्यसका लागि हेलिकप्टरसँग पनि कुराकानी भइसकेको छ । उहाँहरुले जाने समय भन्नेबित्तिकै बहिनीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालको प्राङ्गणमा राख्छौं ।’
तिहारका बेला अस्पताल भर्ना गरिएकी मीनाको छोरीलाई जन्म दिएपछि मृत्यु भएको हो । उनको निधनपछि आफन्तले अस्पतालमा तोडफोड गरेका थिए ।
अस्पताल र परिवारबीच हिजो भएको ६ बुँदे सम्झौतामा मीनाको दुईटी छोरीलाई १२ कक्षासम्म पढाउने, निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्नेलगायत उल्लेख छ ।
