आज पनि नेपालको अधिकांश स्थानमा भारी वर्षा

  • Clock icon
    २०८२ कार्तिक १४, शुक्रबार

बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक असरले मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी सप्तरीको बरमझियामा ५७।४ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार मोन्था चक्रवातको प्रणालीको प्रभाव आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ ।
त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको उनले जानकारी दिइन् ।

साथै काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मध्यम वर्षा र अन्य प्रदेशहरुमा हल्का वर्षा हुने उनको भनाइ छ ।

यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगहरुमा हिमपातको समेत सम्भावना छ ।

भोलि शनिबार बिहानदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको छ ।

  • Clock icon
    २०८२ कार्तिक १४, शुक्रबार