न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपालको औपचारिक भ्रमणका लागि पिटर्स जेठ १५ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा.अरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
यो भ्रमण न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुने पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
न्युजिल्यान्ड सरकारको आधिकारिक वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्सले अष्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको भ्रमण गर्ने उल्लेख छ । यस भ्रमणको उद्देश्य दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध सुदृढ गर्नु रहेको न्युजिल्यान्ड सरकारले जनाएको छ ।