चाडपर्वको उज्यालोसँगै भारतीय अटो बजार पनि पुनः चम्किएको छ। गत सेप्टेम्बरमा लागू भएको जीएसटी २.० मार्फत कारको मूल्य घटेपछि उपभोक्ताहरूको आकर्षण फेरि शोरूमतिर तानिएको हो। दशैं–तिहारको बोनस, छुट र नयाँ मोडलहरूको आकर्षणले अक्टोबर महिनामा कार बिक्रीले नयाँ इतिहास रचेको छ।
लामो समयदेखि सुस्त देखिएको खुद्रा बजारमा चाडपर्वले नयाँ ऊर्जा भरेको छ। अटो उद्योगका अधिकांश कम्पनीहरूले मासिक बिक्रीमा उल्लेखनीय सुधार देखाएका छन्, जसले बजारमा पुनः उत्साह जगाएको छ।
मारुती सुजुकी फेरि पनि बजारको नेतृत्वमा उभिएको छ। कम्पनीले अक्टोबरमा २ लाख ३८ हजार ९९१ युनिट कार बिक्री गर्दै इतिहासकै सबैभन्दा बढी बिक्री गरेको छ। यो अघिल्लो सेप्टेम्बरमा गरिएको १ लाख ३२ हजार ८२० युनिट बिक्रीभन्दा १७.४ प्रतिशतले वृद्धि भएको हो।
टाटा मोटर्स, महिन्द्रा र हुन्डाईबीच दोस्रो स्थानको होड निकै रोचक बनेको छ। अक्टोबरमा टाटा मोटर्स दोस्रो स्थानमा रहँदै ७३ हजार ८७९ युनिट कार बिक्री गरेको छ। कम्पनीले नेक्सन, पञ्च र इलेक्ट्रिक भेहिकल (EV) को बिक्री दर उल्लेखनीय रहेको जनाएको छ। टाटाको बिक्री दर १२.७ प्रतिशतले बढेको छ।
तेस्रो स्थानमा रहेको महिन्द्राले ६७ हजार ४४२ युनिट कार बिक्री गरेको छ, जसको वार्षिक ग्रोथ ९.५८ प्रतिशत रहेको छ।
चौथो स्थानमा हुन्डाई रहेको छ, जसले अक्टोबरमा ६५ हजार ४९ युनिट गाडी बिक्री गरेको हो। कम्पनीका क्रेटा, भेन्यू र नयाँ एक्स्टर मोडल स्थिर रूपमा लोकप्रिय बनेका छन्, तर कम्पनीको वार्षिक बिक्रीदर ७.४ प्रतिशतले घटेको छ।
अन्य कम्पनीहरूको प्रदर्शन यसप्रकार छ:
-
टोयोटा: ३४ हजार ५४८ युनिट बिक्री (१४.२% वृद्धि)
-
किया: ३२ हजार ७३८ युनिट बिक्री (९.९% वृद्धि)
-
स्कोडा–फक्सवागन: १२ हजार ५५ युनिट बिक्री (३४.३% वृद्धि)
-
होन्डा: ७ हजार १६८ युनिट बिक्री (३% गिरावट)
-
एमजी मोटर्स: ५ हजार ७५४ युनिट बिक्री (२.५% गिरावट)
-
रेनल्ट: ५ हजार ४१ युनिट बिक्री (१२.६% वृद्धि)
-
निसान: २ हजार ५४८ युनिट बिक्री (५.९% वृद्धि)
अटो उद्योग विश्लेषकहरूका अनुसार, जीएसटी २.० ले मूल्य घटाएको र चाडपर्वमा बढेको उपभोक्ता मनोवृत्तिले बजारलाई नयाँ उचाइमा पुर्याएको हो। आगामी महिनाहरूमा पनि यो प्रवृत्ति निरन्तर रहने र अटो बजारले स्थायी पुनरुत्थानको संकेत देखाएको उनीहरूको आकलन छ।
