मनसुन चाँडौ भित्रदै, अत्याधिक वर्षको प्रक्षेपण

साबधान ! जल तथा मौसम विज्ञान विभागले ३० वर्षको तथ्यांकको आधारमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। यही जेठ १८ देखि असोज ४ गतेसम्मको मनसुन अवधिमा अधिकांश स्थानमा अत्यधिक पानी पर्ने सम्भावना देखिएको छ। बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले विभागले सबै नागरिक, विशेषगरी जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रधानमन्त्री केपि ओलीले जल तथा मौसम विज्ञान विभागको कार्यालय अवलोकन गरी आफ्नो फेसबुकमा लेखेका छन् : वर्षायाम आउँदै छ। यस वर्षको मनसुन आउनु अगाडि जल तथा मौसम विज्ञान विभागले कस्तो अध्ययन गरिरहेको छ भन्ने विषयमा नजिकबाट जानकारी लिएको छु। मौसमजन्य विपत हुन नदिन पूर्वतयारीका विषयमा विभागको कार्यालय पुगेर यसबारे भएको तयारी बुझें। अब यस्ता विपत् हुन नदिन विपत् व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबीच भरपर्दो समन्वय कायम गर्न आवश्यक निर्णय लिइने छ। वर्षा आउन लाग्यो, हामी सबै सचेत हुन जरुरी छ ।