साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ। कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले शेयरधनीहरूलाई २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।
लाभांशसँगै कम्पनीले १ः१ (शतप्रतिशत) अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णयमा पनि संशोधन गरेको छ। यसअघि २०८०/८१ को साधारण सभाले १ः१ हकप्रद सेयर जारी गर्ने निर्णय गरिसकेको थियो। अहिले भने सञ्चालक समितिले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीलाई आधार मानेर हकप्रद जारी गर्ने निर्णय गरेको हो।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी रु. ४ अर्ब ५७ करोड ३८ लाख पुग्नेछ। सोही आधारमा कम्पनीले ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ।
