गएको साता समग्रमा ५२.८५ अंकले घटेको शेयर बजार यो साता आइतबार ५.१५ अंकले घटेकोमा सोमबार र मंगलबार उकालोतिर लागेको छ।
सोमबार ९.७८ अंकले बढेर बजार २५५०.३७ बिन्दुमा पुगेको बजार मंगलबार १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा पुगेको छ।
२०७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको छ।
आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहे पनि बजारले सुधारको आधार देखाएको छैन।
सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।
