गान्धी र लक्ष्मीबाईप्रति प्रधानमन्त्री मोदीको सम्मान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी र वीरांगना रानी लक्ष्मीबाईको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। दुवै राष्ट्रनायिकाको योगदानलाई स्मरण गर्दै मोदीले देशको इतिहासलाई गौरवान्वित बनाउने व्यक्तित्वहरूप्रति कृतज्ञता व्यक्त गरेका हुन्।

बुधबार इन्दिरा गान्धीको १०८औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री मोदीले X (ट्विटर) मा लेख्दै उनले भारतले पाएको महिला नेतृत्वको महत्वपूर्ण अध्यायप्रति सम्मान प्रकट गरे। सन् १९१७ नोभेम्बर १९ मा नेतृत्वशाली परिवारमा जन्मेकी इन्दिरा गान्धी भारतकी पहिलो महिला र दोस्रो सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री थिइन्।

जनवरी १९६६ देखि मार्च १९७७ र पुनः जनवरी १९८० देखि अक्टोबर १९८४ सम्म प्रधानमन्त्री रहेकी गान्धीको योगदानमा बैंक राष्ट्रियकरण, प्रिवी पर्स खारेजी, तथा सामाजिक–आर्थिक सुधारहरू प्रमुख मानिन्छन्। अक्टोबर ३१, १९८४ मा आफ्नै सुरक्षा गार्डद्वारा हत्या गरिएपछि देशभर दंगा–हिंसा पनि फैलिएको थियो।

यसैदिन प्रधानमन्त्री मोदीले भारतको स्वतंत्रता संग्रामकी अदम्य वीरांगना रानी लक्ष्मीबाईको १९७औं जन्मजयन्तीमा पनि श्रद्धाञ्जली अर्पण गर्दै उनको साहस, देशभक्ति र बलिदानले आज पनि भारतीयहरूलाई प्रेरित गर्दै आएको बताए। ‘‘मातृभूमिको गौरवका लागि उहाँले गरेको संघर्ष राष्ट्रले कहिल्यै बिर्सने छैन,’’ मोदीले लेखे।

यसअघि पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको स्मृतिस्थल शक्ति–स्थलमा कांग्रेस नेता राहुल गान्धी, मल्लिकार्जुन खड्गे, सोनिया गान्धीलगायतका नेताले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए। स्वतन्त्रता आन्दोलनदेखि राष्ट्रिय नीतिसम्म महत्वपूर्ण योगदान पुर्‍याएका यी दुई व्यक्तित्व आज पनि भारतको इतिहासमा अमर छन्।