दुई अन्तरदेशीय प्रसारण लाइनका लागि ३ अर्ब लगानी, नेपाल–भारत संयुक्त पहल अघि बढ्यो

नेपाल विद्युत प्राधिकरण (NEA) ले दुई महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि गठन गर्न लागिएको संयुक्त लगानी कम्पनी (JV) मा ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यस परियोजनामा नेपाल–भारत दुबै पक्षको लगानी रहनेछ।

मन्त्रालयका अनुसार नेपालमा स्थापना हुने संयुक्त कम्पनीका लागि १ अर्ब रुपैयाँ र भारतमा स्थापना हुने JV का लागि २ अर्ब रुपैयाँ इक्विटी स्वरूपमा लगानी गरिनेछ। NEA ले आवश्यक रकम आफ्नै आन्तरिक स्रोतबाट जुटाउनेछ।

नेपाल र भारतका उच्च अधिकारीबीच यसअघि नै सहमति भइसकेको यो JV इनरुवा–पूर्णिया र दोधरा–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माणका उद्देश्यले गठन गर्न लागिएको हो। ऊर्जा व्यापारका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यी प्रसारण लाइनहरू २०३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नेपालमा स्थापना हुने JV मा NEA को ५१ प्रतिशत र भारतको पावर ग्रिड कर्पोरेसनको ४९ प्रतिशत शेयर रहनेछ। यसले परियोजनामा नेपालको प्रमुख सहभागिता र नियन्त्रण सुनिश्चित गर्ने मन्त्रालयले उल्लेख गरेको छ।