सवारी दुर्घटनामा कांग्रेस नेताको मृत्यु

गएराति चितवनमा भएको गाडी दुर्घटना नेपाली कांग्रेसका स्थानीय एक नेताको मृत्यु भएको छ।

कालिका नगरपालिका ११ मा शनिबार राति साढे ११ बजेतिर बा.१८च८९७३ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा कांग्रेसका नेता खैरहनी नगर पालिका-४ निवासी ६२ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार बोलेरो न्यौपाने आफैँले चलाएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बलेरो अनियन्त्रित भएर सडकबाट करिव १५० मिटर तल खसेको पाइएको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसका स्थानीय नेता न्यौपानेले सामुदायिक वन र रेडक्रसमा पनि सक्रिय थिए। उनी व्यवसायिक मौरी पालक किसानको रूपमा पनि परिचित थिए।

 

 

नेपालखबरबाट साभार