सरकारले स्टार्टअप प्रवद्र्धन कार्यविधि लागू गर्‍यो

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार

सरकारले नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि व्यवसाय सम्बद्र्धन सेवा कार्यविधि लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय सम्बद्र्धन सेवा स्थापना तथा सञ्चालनका लागि तयार पारेको नयाँ कार्यविधि कात्तिक ३० गते स्वीकृत भएको हो।

यस कार्यविधि मार्फत स्टार्टअप सुरु गर्न इच्छुक नवउद्यमी तथा तीव्र वृद्धि सम्भावना भएका उद्यमीहरूलाई प्रशिक्षण, परामर्श र आवश्यक व्यवसायिक सहयोग उपलब्ध गराइनेछ। सेवा कार्यक्रमहरू उद्योग व्यवसाय विकास प्रतिष्ठानमार्फत सञ्चालन हुने र संघीय, प्रदेश तथा स्थानीय सरकार, शैक्षिक संस्था र निजी क्षेत्रको सहभागिता रहने बताइएको छ।

कार्यविधिमा सेवा प्रदायक संस्थाका लागि न्यूनतम पूर्वाधारसमेत तोकिएको छ। कार्यालय कक्ष, तालिम स्थल, बैठक कक्ष, पार्किङ, आवश्यक फर्निचर, द्रुतगति इन्टरनेट र कम्प्युटरसहितका उपकरण अनिवार्य हुनेछ। साथै, योग्य मेन्टर र प्राविधिक सहयोग उपलब्ध गराउने मापदण्ड पनि कार्यविधिमा समावेश गरिएको छ।

मन्त्रालयका अनुसार यो कदम स्टार्टअप र नवउद्यमीलाई व्यवस्थित ढंगले सहयोग गर्दै उद्यमशीलता विकासलाई संस्थागत बनाउने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

doc02169320251124180549_rs0fj2r

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार