पृथ्वीको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ७२ वर्ष पुगेको छ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी तथा नेपालका तेन्जिङ नोर्गेले सगरमाथा शिखरमा पहिलो पाइला टेकेपछि सात दशकको अवधिमा करिब सात हजार आरोही सगरमाथा शिखरमा पुगेका छन् भने जीवन गुमाउनेको सङ्ख्या ३४० नाघेको छ ।
हिमाल आरोहणमा जति चुनौती थपिँदै गएका छन्, सगरमाथा आरोहणप्रति विश्वका विभिन्न मुलुकका पर्वतारोहीका आकर्षण निरन्तर बढ्दै गएको छ ।
रोबर्ट पियरी र माथ्यु हेन्सनले पहिलो पटक सन् १९०९ मा उत्तरी ध्रुव तथा रोअल्ड अमुन्डसेनले सन् १९११ मा दक्षिणी ध्रुवमा पाइला टेके जस्तै हिलारी र तेन्जिङ नोर्गेले १९५३ को मे २९ बिहान ११:३० मा सर्वोच्च शिखरको चुचुरोमा पुगेर विश्व कीर्तिमान स्थापित गरे ।
बेलायतकी तत्कालीन महारानी दिवङ्गत एलिजाबेथ द्वितीयाको शुभ राज्याभिषेकको ऐतिहासिक अवसरपूर्व यी दुई पर्वतारोहीको सफल आरोहणले नेपाल विश्वमा व्यापक चर्चामा आउनुका साथै साहसिक विश्व पर्यटनमा नयाँ अध्याय स्थापित भएको थियो ।
अहिले सगरमाथा चढ्नेहरुको विश्वभरबाट भिड लाग्न थालेको छ । यो राम्रो हो ।
पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक(दुई टीम थपिने विभागको अनुमान छ ।
अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड सङ्कलन भएको छ ।