जीवन बीमा बजारमा पुनर्जागरण: सरेन्डर घट्यो, प्रिमियम संकलन उछालियो

आर्थिक मन्दी र अस्थिरता बीच नेपाली बीमा उद्योगले पुनः स्थिरता र वृद्धि देखाउन थालेको छ। जीवन बीमा प्रिमियम नियमित रूपमा बुझाउने प्रवृत्ति बढेसँगै जीवन बीमालेख सरेन्डर दरमा उल्लेखनीय कमी आएको छ। यसले बीमा कम्पनीहरूको समग्र व्यापार दोहोरो अंकमा उकासिएको प्राधिकरणको रिपोर्टले संकेत गर्छ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा (कात्तिक मसान्तसम्म) जीवन बीमा व्यवसाय १८.६७ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा ६३ अर्ब ७२ करोड २८ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ, जुन गत वर्षको सोही अवधिमा संकलित ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो।

बीमितहरूले प्रिमियम नियमित बुझाउन थालेसँगै व्यवसायको आकार बढ्नुका साथै सरेन्डर दर पनि घटेको छ। समिक्षा अवधिमा २९ हजार ४५९ वटा बीमालेख सरेन्डर भएका छन्, जुन गत वर्षको तुलनामा १८.१४ प्रतिशत कम हो। यस्तै, सरेन्डर रकम पनि ६.२७ प्रतिशत घटेर ४ अर्ब ५२ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ।

यता, नयाँ व्यवसाय विस्तारमा बीमा कम्पनीहरूको सक्रियता झनै बढेको छ। प्रथम बीमा शुल्क (नयाँ व्यवसाय) २९.०२ प्रतिशतले बढ्दै १४ अर्ब २० करोड ५९ लाख रुपैयाँ पुगेको छ। प्राधिकरणका अनुसार यो बढ्दो विश्वासले नै सरेन्डर दर घटेको संकेत गर्दछ।

तर, चुनौतीपूर्ण पक्षहरू पनि उस्तै छन्। हाल १२ लाख १७ हजार ७०२ वटा बीमालेख नविकरण हुन बाँकी छन्, जसको आर्थिक मूल्य ३६ अर्ब ७७ करोड ८५ लाख रुपैयाँ बराबर छ। बीमा अभिकर्ताहरूको असक्रियता र ग्राहकसँगको कमजोर सम्पर्कले नविकरणमा असर परेको प्राधिकरणको निष्कर्ष छ।

यद्यपि, आर्थिक गतिविधि विस्तार, बीमितहरूको बीमा योजनाप्रति बढ्दो जागरूकता, अभिकर्ता व्यवहारमा सुधार, दाबी भुक्तानी प्रक्रियामा गति र नियामक–कम्पनीको संयुक्त पहलले बीमा उद्योगमा सुधारको लहर ल्याएको बताइन्छ।