नेपालमा विदेशी लगानीको प्रतिबद्धता विगतदेखि नै धेरै देखिने तर वास्तविक लगानी न्यून हुने समस्या रहँदै आएको छ। सुरुमा उत्साहका साथ नेपालमा लगानी गर्न इच्छुक देखिने विदेशी लगानीकर्ता यहाँको जटिल प्रक्रिया, ढिलासुस्ती, भ्रष्टाचार तथा निजी क्षेत्रकै असहिष्णु व्यवहारजस्ता समस्याका कारण पछि हट्ने प्रवृत्ति देखिँदै आएको थियो। पछिल्ला दिनमा त प्रारम्भिक लगानी प्रतिबद्धतासमेत घट्दो क्रममा देखिन थालेको छ।
गत भदौ २३ र २४ गते भएको जेन–जी जनआन्दोलनपछि विदेशी लगानीकर्तामा नेपालप्रति थप सतर्कता बढेको देखिन्छ। आन्दोलनका क्रममा देशभर २ हजार १६८ निकाय वा संस्थामा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो। जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिका अनुसार ५४ जिल्लाका २६२ स्थानीय तहमा क्षति पुगेको हो।
सरकारी तथा सार्वजनिक क्षेत्रतर्फ करिब ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ भने निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ। आन्दोलनका क्रममा विदेशी चेन होटल हिलटन पूर्ण रूपमा जलेर नष्ट भयो। कयौँ व्यापारिक केन्द्रमा आगलागी र लुटपाटका घटनाहरू भए, भाटभटेनीजस्ता सुपरमार्केटहरू पनि प्रभावित भए। आन्दोलनकै क्रममा ७७ जनाले ज्यान गुमाउनु पर्यो।
यी घटनाको प्रत्यक्ष असर अहिले विदेशी लगानीमा देखिन थालेको छ। जेन–जी आन्दोलनपछि नेपालमा नयाँ विदेशी लगानी भित्र्याउन कठिन हुँदै गएको उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले जनाएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल २८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो। अघिल्लो वर्ष पाँच महिनाको अवधिमा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको मात्र प्रतिबद्धता आएको थियो।
यद्यपि, मासिक तथ्यांक हेर्दा जेन–जी आन्दोलनपछि विदेशी लगानी प्रतिबद्धताको गति सुस्ताएको देखिन्छ। आन्दोलन भएको महिना भदौमा १०९ वटा कम्पनीले ८ अर्ब ९८ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेका थिए। अघिल्लो वर्ष भदौमा भने ३८ वटा कम्पनीले मात्र ३ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिबद्धता गरेका थिए। भदौ महिनाको अन्त्यतिर आन्दोलन भएकाले त्यसअघि नै भएका प्रतिबद्धताले उक्त महिनामा लगानी उच्च देखिएको उद्योग विभागको विश्लेषण छ।
आन्दोलनपछि यसको असर असोजदेखि स्पष्ट रूपमा देखिन थालेको छ। चालु आर्थिक वर्षको असोजमा ७५ वटा कम्पनीबाट २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब २५ करोड ९६ लाख २४ हजार रुपैयाँले कम हो। अघिल्लो वर्ष असोजमा ३४ वटा कम्पनीले ३ अर्ब ३० करोड ५३ लाख ५६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेका थिए। यस वर्ष असोजमा मध्यम खालको लगानी नआएर साना लगानी मात्र सीमित भएको देखिन्छ।
कार्तिक महिनामा लगानी प्रतिबद्धता लगभग उस्तै देखिए पनि जेन–जी आन्दोलनअघिको तीव्रता फर्किन सकेको छैन। अघिल्लो वर्ष कार्तिकमा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोमा यस वर्ष १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ बराबरको मात्र आएको छ, अर्थात् ६ करोड ६१ लाख रुपैयाँले कम। मंसिरमा पनि यही प्रवृत्ति कायम रह्यो। अघिल्लो वर्ष मंसिरमा २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिबद्धता आएकोमा यस वर्ष मंसिर मसान्तसम्म १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको मात्र आएको छ, जुन १९ करोड ७२ लाख ९१ हजार रुपैयाँले कम हो।
