सानिमा रिलायन्सले शुरु गर्‍यो बीमालेख पुनर्जागरण अभियान, शतप्रतिशत विलम्ब शुल्क छुट

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरणमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहित पुनर्जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरिएको हो।

कम्पनीका अनुसार यो अभियान पौष ६ गतेदेखि २८ गतेसम्म लागू हुनेछ। अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिनेछ। साथै, छुट प्राप्त बीमालेख ६ महिनाभित्र समर्पण गर्दा छुट पाएको सम्पूर्ण रकम भुक्तानी गराई समर्पण गरिने व्यवस्था गरिएको छ। तर, बीमालेख परिपक्व हुन १ वर्ष वा १ वर्षभन्दा कम अवधि बाँकी भएमा ब्याज छुट लागू नहुने कम्पनीले स्पष्ट पारेको छ।

सामान्य अवस्थामा, बीमालेख व्यतीत भएमा बीमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क तिर्नुपर्ने हुन्छ। तर यस पुनर्जागरण अभियानमार्फत ग्राहकले विलम्ब शुल्कमा छुट लिएर आफ्नो बीमालेख नवीकरण गराउन सक्ने कम्पनीले आग्रह गरेको छ।

सानिमा रिलायन्सले हरेक नेपालीलाई जीवन बीमामा आवद्ध गराई बीमित र आश्रितको आर्थिक सुरक्षा सबल र स्थिर बनाउन जीवन बीमालाई अनिवार्यको रूपमा जोड दिएको छ।

ग्राहकहरूले देशभरका १६८ शाखा कार्यालय वा अनलाइन भुक्तानी माध्यमबाट यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जानकारी दिएको छ।