टी २० विश्वकप-नेपालको प्रारम्भिक टोली घोषणा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सकिएपछि अब राष्ट्रिय क्रिकेट टोलीको ध्यान टी २० विश्वकपतिर मोडिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज आइतबार घोषणा गरेको प्रारम्भिक टोलीमा एनपीएलमा प्रभाव देखाएका र नियमित टोलीका गरी २४ खेलाडीलाई समेटिएको छ।

प्रारम्भिक टोलीमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनास बोहोरा, प्रतिश जि.सी, रुपेश सिंह छन् ।

आगामी फेब्रुअरी मार्चमा आईसीसी टी २० विश्वकप भारत र श्रीलंकामा हुँदैछ। विश्वकपमा नेपाल समूह सी मा छ। नेपाल रहेको समूहमा बंगलादेश, इङ्ल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्।

नेपालले आगामी माघ २५ गते (फेब्रुअरी ८) इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। माघ २९ गते ९फेब्रुअरी १२० इटाली, फागुन ३ गते (फेब्रुअरी १५) वेष्ट इन्डिज र ५ गते (फेब्रुअरी १७) बंगलादेशसँग खेल्ने तालिका छ।

विश्वकपअघि भएको नेपाल प्रिमियर लिग सिजन(२ मा खेलाडीहरुको प्रदर्शनलाई लिएर अबको नेपाली टिम कस्तो बन्छ भनेर धेरैलाई चासो छ।

क्यानले एनपीएललाई विश्वकप छनोटका लागि आधिकारिक प्रतियोगिता भनेर घोषणा नगरेपनि खेलाडीहरुले त्यसलाई छनोटको रुपमा लिएका थिए।

क्यानले आधिकारीक घोषणा नगरे पनि एनपीएलमा गरेको प्रदर्शनले टोलीमा केही फरक पक्कै पार्ने छ । जसको प्रभाव प्रारम्भिक छनोटमा पनि देखियो।

प्रारम्भिक टोलीलाई हेर्ने हो भने पनि यसको छनक देखिन्छ। विनोद भण्डारी, इसान पाण्डे, शेर मल्ल, अविनास बोहरा र प्रतिस जि।सी लगायतका खेलाडी टोलीमा समेटिएका छन्। जो एनपीएलमा प्रभाव देखाएका खेलाडी हुन्।

तर यसअघि लामो समयदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका खेलाडीले यो एनपीएलमा सन्तोषजनक प्रदर्शन गर्न सकेनन्। अनि, कतिपय टिम बाहिर रहेका खेलाडीहरुले प्रभावशाली प्रदर्शन गरे।

केही खेलाडीले त सार्वजनिक रुपमा राष्ट्रिय टालीको छनोटलाई लिएर असन्तुष्टि पनि जनाएका थिए। यस्तो अवस्थामा क्यानले घोषणा गरेको प्रारम्भिक टोलीले अब अन्तिम टोलीमा पनि केही फरक पार्न सक्ने संकेत गरेको छ।

एनपीएलको पहिलो र दोस्रो सिजनमा राम्रो प्रदर्शन गरेका ओपनर हुन् विनोद भण्डारी।
सुदूरपश्चिम रोयल्सका ओपनर भण्डारीले एनपीएलमा गरेको उच्च प्रदर्शनपछि राष्ट्रिय टोलीमा फिर्ता आउने बारे सोधिएको प्रश्नमा घुमाउरो जवाफसहित असन्तुष्टि पोखेका थिए।

एनपीएलको प्रदर्शनलाई हेर्ने हो भने विनोद भण्डारी, शेर मल्ल, अविनास बोहोरा लगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। मल्ल र बोहोराले सन्दीप लामिछानेले जति नै सर्वाधिक १७ विकेट लिए।

तर यसअघि टोलीमा रहेका मोहम्मद आदिल आलम, ललितनारायण राजवंशी, नन्दन यादव, कुशल भुर्तेल, कुशल मल्ल, आशिफ शेख लगायतका राष्ट्रिय टोलीका नियमित खेलाडीको प्रर्दशन सन्तोषजनक रहेन।

जारी एनपीएलमा राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो प्रर्दशनलाई निरन्तरता दिन सकेनन्।

यसपटक पनि नेपालको ब्याटिङ लाइनमा ठूलो परिवर्तनको संभावना देखिँदैन। तर बलिङ युनिटमा केही परिवर्तन हुन सक्ने सम्भावना छ। शेर मल्लले विश्वकप खेल्ने अन्तिम टोलीमा पनि स्थान बनाउने उच्च सम्भावना छ। तर उनले यो बीचको अभ्यासमा कस्तो प्रदर्शन गर्छन् भन्ने कुराले महत्वपूर्ण अर्थ राख्नेछ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले पनि यसअघिको टोलीको प्रदर्शन हेरेर नै आफूले टोली बनाउने बताइसकेका छन्। ल को भनाइको आधारमा शेर मल्लले टोलीमा स्थान बनाउने संभावना छ।

लुम्बिनी लायन्स च्याम्पियन