नेपाल इन्टेरियर–फर्निचर एक्सपो २०८२ सफलतापूर्वक सम्पन्न

नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा.लि.ले संयुक्त रूपमा आयोजना गरेको यो ११औँ संस्करणको एक्सपो पुष ६ गते आईतबार सम्पन्न भएको हो। प्रदर्शनी तीन दिनसम्म चलेको थियो।

प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी र औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ र उत्पादनहरू प्रदर्शित थिए। उद्घाटनको दिन १०० भन्दा बढी स्वदेशी तथा विदेशी ब्राण्डका स्टल राखिएका थिए।

फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट र अन्य बिक्रेताहरूले काठ व्यवसाय र नयाँ प्रविधिको जानकारी प्रस्तुत गरेका थिए। प्रदर्शनी बिगत ११ वर्षदेखि यस क्षेत्रका व्यवसाय र नवप्रविधि प्रवर्द्धन गर्न हुँदै आएको छ।

प्रदर्शनीको उद्घाटन कार्यक्रममा सहयोगी संस्था नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, सामुदायिक वन उपभोगता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेश राज रेग्मी, नेपाल प्लाइउड उत्पादक संघका होम प्रसाद घिमिरे, र इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्त रूपमा गरे।

प्रदर्शनी स्थलमा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका विज्ञहरूले विभिन्न शीर्षकमा दुई दिने सेमिनार र गोष्ठी पनि सञ्चालन गरेका थिए।