बालेन संसदीय दलको नेता र प्रधानमन्त्री हुने

बालेन शाह रास्वपामा, निर्वाचनपछि संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार हुने

वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच औपचारिक रुपमा बृहत् एकताु को सहमति भएको छ।

काठमाडौंमा भएको ७ बुँदे सहमतिसँगै बालेन शाह अब रास्वपाको तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने तय भएको छ।

रास्वपा सभापति रवि लामिछाने र बालेन शाहद्वारा हस्ताक्षरित सहमतिपत्र अनुसार, पार्टीको नेतृत्व तहमा महत्वपूर्ण कार्यविभाजन गरिएको हो।

जसअनुसार रवि लामिछाने पार्टीको केन्द्रीय सभापतिमा यथावत् रहनेछन् भने बालेन शाहले संसदीय मोर्चाको नेतृत्व सम्हाल्दै देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को रुपमा आफूलाई प्रस्तुत गर्ने तय भएको हो ।
एकता पश्चात् पनि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने र चुनाव चिन्ह घण्टी तथा झण्डा साविककै रहने सहमति भएको छ। दुई पक्षबीच भएको समझदारीमा १० वर्षभित्र नेपाललाई मध्यम(आय भएको मुलुक बनाउने महत्वाकांक्षी आर्थिक(सामाजिक मार्गचित्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सहमतिपत्रमा भ्रष्टाचार र कुशासन विरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने तथा सहिद र घाइते परिवारका मागलाई सम्बोधन गर्ने बुँदा समेटिएको छ। साथै, पार्टीको सांगठनिक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समावेश गर्ने नीति लिइएको छ।

दुवै नेताले रास्वपाको सिद्धान्त र चुनाव चिन्हमा गोलबद्ध हुन अन्य परिवर्तनकामी र वैकल्पिक राजनीतिक शक्तिहरूलाई पनि आह्वान गरेका छन्।

 

 

लोकान्तरबाट साभार