निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ । सुरुमा समानुपातिकतर्फको र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापिने छ ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ । निर्वाचन आयोगले यसअघि नै पुस १६ गतेदेखि मतपत्र छाप्ने तालिका निर्धारण गरेको थियो ।
समानुपातिकतर्फ भाग लिने राजनीतिक दल र निर्वाचन चिह्न निश्चित भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने काम हुने आयोगले जनाएको छ ।
‘५८ दल र ६४ चुनाव चिह्न एकिन भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने काम हुनेछ ।
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको छ । समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने आयोगको नीति छ ।
समानुपातिकको मतपत्र छाप्ने काम २० देखि ३० दिन लाग्ने अनुमान छ ।
समानुपातिकको मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु हुनेछ । प्रत्यक्षतर्फको मतपत्र हरेक निर्वाचन क्षेत्र अनुुसार फरक फरक हुनेछ । निर्वाचन क्षेत्र अनुसार दलको सहभागिता र निर्वाचन चिह्न फरक–फरक हुने भएकाले मतपत्र पनि सोही अनुसार छाप्नुपर्ने हुन्छ ।
प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि सुरु हुने छ ।
