धेरै देशहरूमा विद्युतीय सवारी (ईभी) अझै पनि धनी वर्गको विलासितासँग जोडिए पनि चीनमा भने ईभी दैनिक जीवनको सामान्य साधन बनिसकेको छ। उच्च मूल्य, सीमित चार्जिङ सुविधा र सरकारी सहयोगको अभावले अन्य मुलुकमा ईभीको प्रयोग सीमित रहँदा चीनले भने यस क्षेत्रमा ऐतिहासिक फड्को मारेको छ।
चीनमा एक वर्षमा बिक्री हुने कुल सवारीमध्ये झण्डै ५० प्रतिशत विद्युतीय हुने गरेका छन्। अर्थात् चीनमा प्रत्येक दुईमध्ये एक नयाँ गाडी ईभी हो। विश्वका धेरै देशका लागि यो तथ्य अझै कल्पनाजस्तै भए पनि चीनका लागि यो सामान्य यथार्थ भइसकेको छ। यही कारण चीन आज विश्वकै सबैभन्दा ठूलो र प्रभावशाली विद्युतीय सवारी बजारका रूपमा स्थापित भएको छ।
कहिल्यै साइकलको देश भनेर चिनिने चीन अहिले विश्वकै अग्रणी ईभी निर्माता बनेको छ। १ करोड ८० लाखभन्दा बढी जनसंख्या भएको ग्वाङ्झाउजस्ता ठूला सहरमा अहिले पेट्रोल–डिजेल गाडीको भीड र इन्जिनको ठूलो आवाजभन्दा विद्युतीय गाडीको शान्त उपस्थिति बढी देखिन्छ। ट्राफिक जामका बेला पहिलेजस्तो गर्जन होइन, अहिले हल्का सुस्केराजस्तो शान्त वातावरण महसुस हुने गरेको छ, जसले ध्वनि प्रदूषणमा आएको कमी र सहरको यातायात संस्कृतिमा भएको परिवर्तन देखाउँछ।
विश्लेषकहरूका अनुसार विद्युतीय सवारीको क्षेत्रमा चीन अन्य देशभन्दा झण्डै १० वर्ष अगाडि र १० गुणा बलियो अवस्थामा छ। यही वर्ष मात्रै चिनियाँ कम्पनी बिवाइडी (BYD) ले अमेरिकी टेस्लालाई उछिनेर विश्वकै सबैभन्दा ठूलो ईभी निर्माता बनेको छ। १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको विशाल घरेलु बजारले बिवाइडीको वृद्धिमा ठूलो भूमिका खेलेको छ। बिवाइडीसँगै सस्तो ईभी उत्पादन गर्ने अन्य धेरै चिनियाँ स्टार्टअपहरू पनि विश्व बजारतर्फ तीव्र रूपमा अघि बढिरहेका छन्।
दीर्घकालीन योजना र राज्यको लगानी
चीनको ईभी प्रभुत्वको जड सन् २००० को दशकको सुरुवातमै राखिएको थियो। जर्मनीमा प्रशिक्षित इन्जिनियर वान गाङ सन् २००७ मा चीनका व्यापार तथा विज्ञान मन्त्री बनेपछि विद्युतीय सवारीलाई रणनीतिक उद्योगका रूपमा अघि बढाउने मास्टर प्लान तयार भयो। पेट्रोल र डिजेल गाडी उत्पादनमा पश्चिमी र जापानी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा चीनले ईभीलाई ‘गेम चेञ्जर’ बनाउने निर्णय गर्यो।
सन् २००१ मै पाँचवर्षे योजनामा ईभी समावेश गरिए पनि २०१० को दशकदेखि सरकारले उद्योग विस्तारका लागि ठूलो मात्रामा अनुदान दिन थाल्यो। अमेरिकन सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीज (CSIS) का अनुसार २००९ देखि २०२३ सम्म १५ वर्षको अवधिमा चीनले ईभी उद्योग विकासमा २३०.९ अर्ब अमेरिकी डलर खर्च गरेको छ।
सरकारले उपभोक्तालाई कर छुट, अनुदान, चार्जिङ स्टेशन निर्माणमा लगानी, अनुसन्धान तथा विकास कार्यक्रम, र सरकारी निकायमार्फत ईभी खरिद नीति लागू गर्यो। सन् २०२३ मा राज्य सहयोगअन्तर्गत भएको कुल खर्चमध्ये ८७.४ प्रतिशत बिक्री कर छुटमा र ९.४ प्रतिशत अनुसन्धान तथा विकासमा खर्च गरिएको थियो।
यसले बिवाइडीलाई स्मार्टफोन ब्याट्री उत्पादनबाट ईभी उद्योगतर्फ केन्द्रित हुन प्रेरित गर्यो। निङदेस्थित सीएटीएल (CATL) कम्पनी, जसले टेस्ला, भोक्सवागन र फोर्डलाई ब्याट्री आपूर्ति गर्छ, आज विश्वको करिब एकतिहाइ ईभी ब्याट्री उत्पादन गर्छ। यस दीर्घकालीन रणनीतिले चीनलाई ब्याट्री आपूर्ति शृङ्खलामा पनि प्रभुत्व जमाउन मद्दत गरेको छ।
विश्व बजारतर्फ चिनियाँ ईभी
चिनियाँ ईभीको तीव्र वृद्धिलाई लिएर अमेरिका, क्यानडा र युरोपेली संघले भारी आयात कर लगाएका छन्। तर बेलायतले भने त्यस्तो नीति नलिने संकेत दिएको छ, जसले एक्सपेङजस्ता चिनियाँ कम्पनीका लागि नयाँ अवसर खोलेको छ।
संयुक्त राष्ट्रसंघले जलवायु संकट समाधानका लागि ईभी रूपान्तरणलाई निर्णायक मानेको छ। बेलायतसहित धेरै पश्चिमी देशले २०३० पछि पेट्रोल र डिजेल गाडी बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन्। यस्तो अवस्थामा चीनजत्तिको तयारी अरू कुनै देशसँग नभएको विश्लेषकहरूको भनाइ छ।
आज विश्वमा ईभी बनाउन चाहने कम्पनीहरू ब्याट्री र चिप्सका लागि चीनमा निर्भर हुनुपर्ने अवस्था छ। कतिपयले यसलाई ‘राज्य पुँजीवाद’ भने पनि चिनियाँ अधिकारीहरूका अनुसार स्वदेशी र विदेशी सबै कम्पनीलाई समान अवसर दिइएको छ।
एक्सपेङका अध्यक्ष ब्रायन गुका अनुसार चीनले नीति सहयोग, उपभोक्ता प्रोत्साहन र पूर्वाधार निर्माणमा निरन्तरता दिँदै अत्यन्त प्रतिस्पर्धी वातावरण सिर्जना गरेको छ। एक्सपेङको ‘मोना म्याक्स’ मोडेल करिब २० हजार अमेरिकी डलरमा बिक्री हुँदै स्वचालित ड्राइभिङदेखि स्मार्ट मनोरञ्जन सुविधासम्म उपलब्ध गराइरहेको छ, जुन चिनियाँ युवाका लागि पहिलो गाडीमै सामान्य सुविधा मानिन्छ।
सरकारी सहयोगका कारण चीनमा ईभी प्रयोग सस्तो पनि भएको छ। पेट्रोल गाडीमा ४०० किलोमिटर चलाउन लाग्ने २०० युआन खर्च अहिले ईभीमा चौथाइमा झरेको छ। ईभीका लागि हरियो नम्बर प्लेट निःशुल्क उपलब्ध हुँदा उपभोक्ताको आकर्षण अझ बढेको छ।
चीन अब भविष्यमा विश्वका अधिकांश सवारी आफैं उत्पादन गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ। यद्यपि प्रविधि र डेटा सुरक्षाबारे प्रश्न उठे पनि बिवाइडीकी उपाध्यक्ष स्टेला लीले उच्च सुरक्षा मापदण्ड अपनाइएको दाबी गरेकी छन्।
