नेपाल लाइफलाई प्रहरी सम्मान, समाजमा योगदानको कदर

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सम्मानित गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजना तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा बसन्तपुरमा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम ‘हाम्रो प्रहरी’ अन्तर्गत कम्पनीले दरबारमार्गस्थित प्रहरी कार्यालयको पुनःसम्भार र पुनःस्थापनामा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मानपत्र प्रदान गरिएको हो।

कदरपत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरे। दरबारमार्ग प्रहरी कार्यालय निर्माणार्थ कम्पनीले १७ लाख रुपैयाँको सहयोग प्रदान गरेको थियो।

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउँदै अपराध नियन्त्रण, नागरिक सुरक्षा र सामाजिक सद्भावमा योगदान पुर्‍याउने कम्पनीको भूमिका उच्च मूल्याङ्कन गरिएको छ। यसअघि नेपाल लाइफले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँको सहयोग, बसपार्क प्रहरी कार्यालयको खानेपानी र शौचालय निर्माणमा ६० हजार रुपैयाँको सहयोग र जिल्ला प्रहरी कास्कीलाई पाँच थान कम्प्युटर प्रदान गरेको थियो।

कम्पनीले गत भाद्र २३ र २४ गते भएको जेन्जी प्रदर्शन र आन्दोलनमा सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण तथा राहतमा पनि विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आगामी दिनमा पनि आर्थिक, सामाजिक र भौतिक रूपान्तरणका लागि कम्पनी सक्रिय सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।