न्युयोर्क टाइम्सले जनाएको छ, अमेरिकाले भेनेजुएलामा गरेको सैन्य अपरेशनमा कम्तीमा ४० जनाको मृत्यु भएको छ। शनिबार राजधानी काराकाससहितका शहरहरूमा गरिएको आक्रमणमा राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिइएको थियो। उनीहरू हाल न्यूयोर्कमा हिरासतमा राखिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई सफल अपरेसन भन्दै ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ सुनिश्चित नभएसम्म अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने बताएका छन्।
अमेरिकी अधिकारीहरूले उल्लेख गरे अनुसार, १५० भन्दा बढी विमान प्रयोग गरी भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणालीलाई निष्क्रिय पारियो र त्यसपछि हेलिकोप्टरमार्फत सैनिकहरू मादुरोको निवासमा प्रवेश गरे।
हाल उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भेनेजुएलामा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छिन्। न्युयोर्कका संघीय अभियोजकहरूले मादुरो र फ्लोरेसविरुद्ध अमेरिकामा लागुऔषध तथा अन्य आपराधिक आरोप लगाएका छन्।
यस अपरेशनलाई लिएर आलोचकहरूले अन्तर्राष्ट्रिय कानुन उल्लंघन र क्षेत्रीय अस्थिरता बढ्ने चेतावनी दिएका छन्। हालको परिस्थितिमा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजले शान्तिपूर्ण प्रशासन सञ्चालन गर्दै र राष्ट्रको सुरक्षामा ध्यान दिइरहेकी छन्।
