नेपालको सेयर बजारमा होटेल तथा पर्यटन समूहमा नयाँ कम्पनी थपिन लागेको छ। बुढानीलकण्ठस्थित अत्याधुनिक ‘होटेल फरेस्ट इन लिमिटेड’ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने अन्तिम अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले होटेललाई कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन स्वीकृति दिएको छ। बोर्डको निर्णयसँगै होटलले छिट्टै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अघि बढाउने छ।
होटेल फरेस्ट इनले आईपीओका लागि लामो समयदेखि प्रक्रिया अगाडि बढाउँदै आएको थियो। कम्पनीले २०८० साल कात्तिक १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो। करिब दुई वर्षको प्रशासनिक र प्राविधिक प्रक्रियापछि होटेलले यो अनुमति प्राप्त गरेको हो।
