नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले आज पुस २२ गते “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ” जारी गर्ने सम्बन्धी सूचना सार्वजनिक गर्दै यसको बोलकबोल प्रक्रिया अघि बढाएको हो।
राष्ट्र बैंकका अनुसार यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र आवेदन दिन पाउनेछन्। ऋणपत्रको बोलकबोल आज मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत हुनेछ। यही बोलकबोल प्रक्रियाबाट ऋणपत्रको ब्याजदर निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ।
यो ऋणपत्र एक वर्षे अवधिको हुनेछ। यसको साँव भुक्तानी २०८३ साल पुस २२ गते हुने छ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।
ऋणपत्र खरिदका लागि न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी बोलपत्र पेस गर्न सकिने व्यवस्था छ।
राष्ट्र बैंकले जारी गर्ने यो ऋणपत्र राष्ट्र बैंक स्वयं तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने जनाएको छ।
तरलता व्यवस्थापन र मौद्रिक नीतिको कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यसहित जारी हुन लागेको यस ऋणपत्रलाई बैंकिङ प्रणालीका लागि स्थिर र सुरक्षित लगानीको अवसरका रूपमा हेरिएको छ।
