नेपाल राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। यो नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’ १ वर्षे अवधिका लागि तरलता व्यवस्थापनको उद्देश्यले जारी हुने भएको हो।
आज मध्याह्न २ बजेसम्म अनलाइन बोलकबोल सञ्चालन हुनेछ र बोलकबोलकै माध्यमबाट यस ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ। यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था आवेदन दिन सक्नेछन्।
ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २४ मा हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा बाँकी हिस्सा जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको छ।
यस ऋणपत्र बैंक तथा अन्य वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने छ। नेपाल राष्ट्र बैंकले यसअघि पनि पुस १४, १६, २० र २२ गते २५ अर्ब, र २३ गते २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको थियो।
