जनार्दनलाई प्रचण्ड र माधवले लगाए भगौडाको आरोप

तत्कालिन माओवादी केन्द्रका उपमहासचिव तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माको गृह जिल्ला रुकुम पश्चिम पुगेर नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सह संयोजक माधवकुमार नेपालले उनलाई भगौडाको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेताद्वय प्रचण्ड र नेपालले जनार्दनले कम्युनिष्ट र मार्क्सवाद छोडेर गल्ती गरेको बताए।

आज शनिबार नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी चुनाव रुकुम पूर्वबाट लड्ने निश्चित भएको समेत बताएका छन् ।

जनार्दनलाई लक्षित गर्दै प्रचण्डले भने ‘केही नेताले पार्टी र कम्युनिस्ट विचार छाडेपछि अब जिल्लाको पहुँच केन्द्रमा हुने होइन कि भन्ने केहीलाई लागेको पाएँ,तपाईंहरू ढुक्क हुनुहोस् अब रुकुमको पहुँच हेडक्वार्टरमा पहिला भन्दा अझ बढी हुने छ ।’

अब सिङ्गो रुकुमको विकास निर्माणलाई नयाँ शिराबाट, यहाँका जनताका सुख दुःखलाई मध्यनजर गरेर अगाडि बढाइने समेत उनले आश्वासन दिए ।

कार्यक्रममा प्रचण्डले जनार्दन शर्मालाई भगौडाको संज्ञा दिँदै भने ‘रुकुममा आजसम्म तपाईंहरूले जसलाई विश्वास गर्नुभयो,जसलाई नेता बनाउनुभयो,उनैले पार्टी मात्र छाडेका छैनन्,कम्युनिस्ट विचार समेत त्यागेका छन्,उनी साम्राज्यवादीको चंगुलमा फसेका छन्,तपाईंहरू भगौडाको पछि लाग्नुभएन । त्यसका लागि धन्यवाद ।’

कार्यक्रममा पार्टीका सहसंयाजेक एवम् पूर्व प्रधानमन्त्री नेपालले क्रान्तिकारी एकताको अभियानले देशभर उत्साह,भरोसा र उमंग पैदा भएको बताए ।

नेपालले केही प्रतिक्रियावादीले पार्टीबिरुद्ध बिषबमन गरिरहेको दावी गरे । नेकपाप्रति जनताको आशा र भरोशा जागेको हुनाले परिवर्तनकामी शक्तिहरु एकढिक्का हुन उनले आग्रह गरे ।

पार्टी एकताबाट पन्छिएर गएको भन्दै जनार्दन शर्मा लक्षित माधवको टिप्पणी थियो भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ,काँध थाम्न सकिन्न ।