अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांकको प्रयोगले मात्र असल नीति निर्माण सम्भव हुने बताएका छन्। राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
खनालले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकाङ्क (HDI) प्रतिवेदन तयार पार्ने योजनाबारे जानकारी दिए। उनका अनुसार, यसले नीति निर्माणलाई वैज्ञानिक, समयसापेक्ष र प्रशासकीय विकासका लागि उपयोगी बनाउनेछ।
उनले भने, “तथ्यांकहरु नभए हामी असल नीति निर्माण गर्न सक्दैनौँ। केही समयपछि HDI निकाल्दैछौँ। यदि गाउँपालिका, नगरपालिका तहमा निकाल्न सक्यौं भने वैज्ञानिक नीतिहरू निर्माण गर्न सकिन्छ। यसले प्रशासकीय विकासमा ठूलो योगदान पुर्याउनेछ।”
खनालले औद्योगिक विकास र राष्ट्रिय महत्वका नीति निर्माणमा तथ्यांकको भूमिका महत्वपूर्ण रहेको र आवश्यक तथ्यांक नेपाल आफैं आत्मनिर्भर भएर संकलन गर्नुपर्नेमा जोड दिएका छन्। उनले राष्ट्रिय तथ्यांक कार्यालयलाई सहयोग गर्न सरकार पूर्ण रूपमा तयार रहेको पनि बताए।
उनको भनाइ अनुसार, सत्य र वैज्ञानिक तथ्यांकको प्रयोगले मात्र दीगो विकास र प्रभावकारी नीति निर्माण सम्भव हुनेछ।
