नेपालले विद्यार्थीहरूले निर्माण गरेको मुनाल (MUNAL) उपग्रह आज प्रक्षेपण गर्न लागेको छ। नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीले प्रक्षेपणका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ।
उच्च माध्यमिक तहका नेपाली विद्यार्थीहरूद्वारा विकसित गरिएको यो उपग्रह नेपालका लागि अन्तरिक्ष विज्ञानको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि मानिन्छ। दुई वर्षको मेहनत र अध्ययनपछि तयार भएको मुनाल उपग्रहले मुख्य रूपमा वनस्पति निगरानी, घरेलु प्रविधि परीक्षण र एआई-आधारित डाटा प्रोसेसिङमा प्रयोग हुने जनाइएको छ।
अकाडेमीका सदस्य सचिव डा. रबिन्द्रप्रसाद ढकालका अनुसार मुनाल उपग्रहको प्रक्षेपण इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (ISRO) मार्फत अकाडेमीको खुमलटार, ललितपुरस्थित ग्राउन्ड स्टेशनबाट स्थानीय समय अनुसार बिहान १०:३२ बजे गरिनेछ।
विद्यार्थी नेतृत्वमा तयार भएको उपग्रहले नेपालमा अन्तरिक्ष प्रविधिको प्रयोग र विज्ञानमा नयाँ दिशा दिने विश्वास व्यक्त गरिएको छ। यस प्रक्षेपणसँगै नेपाली युवाहरूको वैज्ञानिक प्रतिभा र अन्तरिक्ष अनुसन्धानतर्फको अग्रसरता पनि उजागर हुने अपेक्षा गरिएको छ।
