छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको छ।
साधारण सभामा प्रस्तुत विवरणअनुसार छिमेक लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २१ करोड ५४ लाख २५ हजार २४० रुपैयाँ ३७ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ। सभाले सो मुनाफाबाट शेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश र १२।५ प्रतिशत बोनस शेयर गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले संस्थाको चुक्ता पूँजी हालको ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ रुपैयाँबाट वृद्धि गरी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा पुर्याउने निर्णय समेत गरेको छ।
सभामा प्रमुख कार्यकारी अधिकृत दीपक निधि तिवारीले संस्थाको वर्तमान वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा भावी विस्तार योजनाबारे जानकारी गराउँदै दिगो र जिम्मेवार लघुवित्त सेवा प्रवाहमा संस्था प्रतिबद्ध रहेको बताए।
यसै अवसरमा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक पदका लागि भएको निर्वाचनमा प्रकाश राज विष्ट आगामी चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।
२०५८ सालमा स्थापना भएको छिमेक लघुवित्त राष्ट्रियस्तरको वित्तीय संस्था हो। हाल संस्थाले देशका ६९ जिल्लामा फैलिएका १९७ वटा शाखामार्फत ४ लाख ४० हजार ३०७ जना महिला सदस्यलाई लघुवित्त सेवाहरू प्रदान गर्दै आएको छ। संस्थाले वित्तीय समावेशीकरण, महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाएको छ।
