विपद्का कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा बाढी तथा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको हो।
बागमती प्रदेशको धादिङमा गत असोज २१ गते त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी नगरपालिका वडा नं.०९ खत्रीपौवामा पहिरो जाँदा सडक एकतर्फी सुचारु रहेको छ।
गण्डकी प्रदेश अन्तर्गत म्याग्दीको बेनि-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका वडा नं.०२ बैसरीमा पहिरो जाँदा सडक एकतर्फी सुचारु छ।
नवलपरासीको कालीगण्डकी करिडोर अन्तर्गत बौदिकाली गाउँपालिका वडा नं. ०३ जन्ती पहिरोमा पहिरो जाँदा सडक एकतर्फी सुचारु छ, तर साना गाडी मात्र चल्न सक्ने र ठुला गाडी जान नसक्ने अवस्था छ।
यता मनाङमा गत असोज १८ गते बाढी आएका कारण बेशीशहर हुँदै खाङसारसम्म जाने सडकमा यातायात एकतर्फी सुचारु रहेको छ।
गोरखाको आरुघाट गाउँपालिका वडा नं। २, ३ र आरुघाट गाउँपालिका वडा नं. ९ नयाँपुल क्षेत्रमा आइतबार आएको बाढी आएका कारण सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रुपमा अवरोध भएको छ।

