कामना सेवा विकास बैंकले विद्यार्थीलाई अनुसन्धान अनुदान दिने

कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययनरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ। बैंकले अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका दुई जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँका दरले र व्यवस्थापन, अर्थशास्त्र तथा कम्प्युटर साईन्स र सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका चार जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरेको छ।

बैंकका अनुसार, अनुदान प्राप्त गर्नको लागि विद्यार्थीले सम्बन्धित कलेजको सिफारिससहित १४ मार्च २०२६ भित्र प्रस्तावना बैंकमा पेश गर्नुपर्नेछ। छनौट समितिले सम्बन्धित विषयका विज्ञसमेतको सहभागितामा अनुदान प्राप्त गर्ने विद्यार्थीको छनोट गर्नेछ।

विद्यार्थीहरूले गर्ने अनुसन्धान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टीकोणले भरपर्दो, प्रमाणित तथ्याङ्कमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ। कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार यो अनुदान एमफिल र स्नातकोत्तर विद्यार्थीहरूको अनुसन्धान कार्यलाई सहयोग पुग्नेछ।

नेपाल राष्ट्र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पटक अनुसन्धान अनुदान प्रदान गर्ने कामना सेवा विकास बैंक बनेको छ। अनुदानसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट www.kamanasewabank.com मा उपलब्ध छ।