राष्ट्रिय वाणिज्य बैंक र चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सहकार्य

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) बीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता भएको छ। बुधबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच सम्झौता–पत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौता–पत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थामा कार्यरत कर्मचारीहरूका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा, विभिन्न बैंकिङ सुविधा तथा अन्य आधुनिक वित्तीय सेवाहरू उपलब्ध गराउनेछ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका निर्देशकद्वय विनोद प्रसाद न्यौपाने र सीए किरण कुमार खत्रीको उपस्थिति रहेको थियो। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप–कार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल र रामकुमार थापा, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौडेलसहित बैंकका विभिन्न तहका कर्मचारीहरू कार्यक्रममा सहभागी थिए।

बैंकले हाल देशका सातै प्रदेशका ७७ जिल्ला सदरमुकाम तथा दुर्गम क्षेत्रसम्म विस्तार गर्दै ३१२ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवामार्फत आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।