सूर्यज्योति लाइफको १८औँ साधारणसभा सम्पन्न, १३% लाभांश पारित

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १८औँ वार्षिक साधारणसभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा भव्य रूपमा सम्पन्न गरेको छ। साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए। कार्यक्रममा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उप–प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिती रहेको थियो।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ। यसैगरी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पनि सर्वसम्मतिले पारित गरिएको छ। साथै, कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्षमा भएका खर्चहरूलाई अनुमोदन गरेको छ।

सभामा सम्बोधन गर्दै अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना, नवीनतम सेवा र डिजिटल रूपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय शेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरूको मेहनत र कर्मचारीहरूको लगनमा रहेको बताए।

साधारणसभामा शेयरधनीहरूले कम्पनी प्रतिको आफ्नो विश्वास व्यक्त गर्दै आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए। सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन्। कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ परिस्कृत गर्दै ग्राहकहरूको जीवनमा सुरक्षा र भरोसा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

हाल सूर्यज्योति लाइफ नेपालकै पहिलो ९००१-२०१५ आईएसओ प्रमाणित जीवन बीमा कम्पनी हो। यसको हाल चुक्ता पूँजी रु. ५०१ करोड, जीवन बीमाकोष रु. ४,३८३ करोड, लगानी रु. ४,८४५ करोड, नेटवर्थ रु. ६७४ करोड, १ लाख ६ हजार अभिकर्ता संख्या, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशभरि १७६ शाखा संजाल मार्फत सेवा प्रदान भइरहेको छ। साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोग विरुद्ध रु. ५० लाखसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।