१० हजार अमेरिकन डलरभन्दा बढी खर्च सडक कुकुरमा

  • Clock icon
    २०८२ माघ १, बिहीबार

केही महिनाअघि अमेरिकन आमाछोरी (५० वर्षीया चन्दा रेनेग्रेगर र १६ वर्षीया छोरी म्याडिसन) चितवन भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। सडकमा छाडा छोडिएको एउटा कुकुर उनीहरुको नजिकै पुग्यो।

पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ पुगे। हतारिदैँ लखेटे। त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। सुरक्षागार्डले भगाइसकेको कुकुर खोज्न फेरि उनीहरु सुरक्षा गार्डलाई नै आग्रह गरे।

सोही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिए। आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरेँ। माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लाने निधो गरे।

ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पुर्याएका विनोद ढकालले उक्त कुकुर यसै साता अमेरिका पुगेको जानकारी दिए। उनका अनुसार अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उनकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लगेका हुन्।

ढकालले भने, ‘कुकुरलाई पिट्दा रोएका ती आमाछोरीले अमेरिका लैजान्छौँ भनेपछि सबै प्रक्रिया पुर्याएर पठाएको हुँ । गत आइतबार त्यहाँ पुगेको खबर पाउँदा निकै खुसी लागेको छ।’

गत जुनमा उनीहरू चितवन पुगेका थिए। दुई साता सोही होटलमा बस्ने क्रममा यो घटना भएको थियो । ढकालका अनुसार त्यतिबेला दुवै जना पूर्वनिर्धारित कार्यसूचीका कारण कुकुर रेखदेखका लागि एक जना व्यक्तिलाई जिम्मा लगाएर गएका थिए।

‘पशु चिकित्सकको परामर्शमा नियमित स्वास्थ्य परीक्षण गर्दै कुकुरलाई राखियो। पछि फिट टू फ्लाइटको अनुमति र पेट पासपोर्ट बनाएर कतार एयरलाइन्समार्फत कुकुरलाई पठाइयो। उक्त कुकुर अमेरिकाको कोलोराडोमा पुगेको छ,’ उनले भने।

कुकुर अमेरिका पु¥याउने सबै प्रक्रिया पूरा गर्दा अमेरिकन आमाछोरीले १० हजार अमेरिकन डलरभन्दा बढी खर्च गरेको छन्।

‘मानिसलाई जनावरको माया कतिसम्म हुँदोरहेछ भन्ने उनीहरूबाट थाहा पाएँ। अमेरिका पुगेपछि दुई दिन क्वारेन्टिनमा राखेको खबर र स्वास्थ्य परीक्षण गरेर बाहिर हिँडाइएको तस्बिर र भिडियो पठाएपछि म पनि ढुक्क भएको छु’, ढकालले भने।

 

रासस