नेपालका लागि एप्पल उत्पादनहरूको एक मात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्राइभेट लिमिटेडले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य व्यावसायिक प्रगति गरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी, नाफा अनुपात र रेटिङ सबै सूचकमा सुधार देखिएको छ।
आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन आम्दानी ५४ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ५९ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब २९ करोड १ लाख रुपैयाँ थियो। यसअघि २०२३ मा २ अर्ब २१ करोड ८ लाख रुपैयाँ र २०२२ मा ३ अर्ब ५७ करोड १ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांक इन्फोमेरिक्स नेपालले जनाएको छ।
आम्दानीसँगै कम्पनीको सञ्चालन नाफा अनुपात पनि सुधारिएको छ। २०२४ मा ५.०५ प्रतिशत रहेको सञ्चालन नाफा अनुपात २०२५ मा बढेर ५.५२ प्रतिशत पुगेको छ। इन्फोमेरिक्स नेपालका अनुसार २०२२ मा यो अनुपात ६.२० प्रतिशत र २०२३ मा ९.५० प्रतिशत रहेको थियो।
रेटिङ सुधार र वित्तीय सुदृढता
कम्पनीको वित्तीय अवस्था मजबुत बन्दै गएको संकेत रेटिङ सुधारले पनि दिएको छ। इन्फोमेरिक्स नेपालले जेनेरेसन नेक्स्टको २ अर्ब ३६ करोड रुपैयाँ बराबरको छोटो अवधिको बैंक सुविधाको रेटिङ आइआरएन ए४ प्लसबाट बढाएर आइआरएन ए३ कायम गरेको छ। त्यस्तै, १ करोड ९ लाख रुपैयाँको लामो अवधिको ऋणका लागि आइआर बीबीबी माइनस रेटिङ प्रदान गरिएको छ।
कम्पनीको ब्याज कभरेज अनुपात पनि सुधार भई ३.८४ गुणा पुगेको छ, जसले ऋण तिर्ने क्षमतामा बलियो अवस्था देखाउँछ।
बजार उपस्थिति र अनुभवी नेतृत्व
सन् २०१० मा स्थापना भएको जेनेरेसन नेक्स्ट भीमसारिया समूह अन्तर्गत सञ्चालनमा छ। चार दशकभन्दा बढी अनुभव भएका पवन कुमार भीमसारियाको नेतृत्वमा रहेको कम्पनीको देशभर बलियो वितरण सञ्जाल रहेको छ। हाल डेलका लागि १५० भन्दा बढी र एप्पलका लागि ५० भन्दा बढी आधिकारिक बिक्रेताहरू कम्पनीसँग आबद्ध छन्।
यसका साथै, काठमाडौं उपत्यकामा कम्पनीले दुईवटा आफ्नै एप्पल सेवा केन्द्रहरू सञ्चालन गरिरहेको छ, जसले बिक्रीपछिको सेवामा पनि कम्पनीको उपस्थितिलाई मजबुत बनाएको छ।
चुनौती र जोखिम
व्यवसाय विस्तारसँगै केही चुनौतीहरू पनि देखिएका छन्। कम्पनीको कुल राजस्वमा एप्पल ब्रान्डमाथिको निर्भरता तीव्र रूपमा बढेको इन्फोमेरिक्स नेपालले औँल्याएको छ। आर्थिक वर्ष २०२३ मा ५० प्रतिशत रहेको एप्पलको योगदान २०२५ मा आइपुग्दा ९७ प्रतिशत पुगेको छ।
