विश्व व्यापारमा चीनको बलियो उपस्थितिः रेकर्ड नाफा

सन् २०२५ मा चीनले विश्वकै सबैभन्दा ठूलो व्यापार नाफा दर्ता गर्दै अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो बलियो उपस्थितिलाई थप सुदृढ बनाएको छ। विश्वको सबैभन्दा ठूलो उत्पादक राष्ट्र चीनले अमेरिकी भन्सार शुल्कको दबाबबीच पनि अन्य अन्तर्राष्ट्रिय बजारहरूमा निर्यात विस्तार गरेर १.२ ट्रिलियन डलरको ऐतिहासिक व्यापार नाफा हासिल गरेको हो। यो सन् २०२४ को तुलनामा करिब २० प्रतिशतले बढी हो।

चीनले आयातको तुलनामा निर्यात कति बढी गरेको छ भन्ने सूचक मानिने व्यापार नाफामा आएको यो वृद्धि चिनियाँ कम्पनीहरूको रणनीतिक बजार विविधीकरणको परिणाम मानिएको छ। अमेरिकी बजारमा निर्भरता घटाउँदै चीनले दक्षिण–पूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाजस्ता उदीयमान बजारहरूमा आफ्नो निर्यात केन्द्रित गरेको छ।

तथ्यांकअनुसार चीनको सबैभन्दा ठूलो एकल निर्यात गन्तव्य मानिने अमेरिकासँगको व्यापार वर्षको पहिलो ११ महिनामा १६.९ प्रतिशतले घटेको छ। अमेरिका–चीनबीच गत वर्षभरि चलेको ‘टीट फर ट्याट’ व्यापारिक द्वन्द्वका कारण अमेरिकी बजारतर्फको निर्यातमा गिरावट आए पनि चीनले यसलाई अन्य बजारबाट पूर्ति गर्न सफल भएको देखिन्छ।

चीनका भन्सार ब्युरोका उप–प्रशासक वाङ जुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जटिल र चुनौतीपूर्ण बाह्य वातावरणका बाबजुद चीनको व्यापारिक प्रदर्शन सकारात्मक रहेको बताए। उनका अनुसार उच्चस्तरीय मेसिन टूल्स, औद्योगिक रोबोटलगायत उच्च प्रविधियुक्त वस्तुको निर्यात १३ प्रतिशतले बढेको छ। साथै, इलेक्ट्रिक सवारी साधन (ईभी), लिथियम ब्याट्री र सौर्य प्यानलजस्ता फोटोभोल्टिक उत्पादनहरूको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ।

अमेरिका र चीनले एक–अर्काका सामानमा भन्सार शुल्क बढाए पनि चीनले निर्यात घटाउनुको सट्टा विश्वका अन्य बजारहरूमा आफ्ना उत्पादन फैलाउने रणनीति अपनाएको छ। यो रणनीति चिनियाँ कम्पनीहरूले ट्रम्पको पहिलो व्यापार युद्धका क्रममा विकास गरेका थिए, जसको प्रभाव अहिले पनि देखिएको छ।

चीनले बलियो निर्यात प्रदर्शनले अमेरिकासँग महिनौंसम्म चलेको व्यापार वार्तामा दृढ रूपमा उभिन आत्मविश्वास मिलेको जनाएको छ। अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि केही भन्सार शुल्क २० प्रतिशतमा झार्ने सहमति भएको थियो। तर हालै ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूले नयाँ २५ प्रतिशत भन्सार शुल्कको सामना गर्नुपर्ने घोषणा गरेपछि चीनसमेत यसको प्रभावमा पर्न सक्ने आँकलन गरिएको छ।

निर्यातकर्ताहरू भविष्यमा थप व्यापारिक तनावका लागि तयार रहेको संकेत दिइरहेका छन्, किनकि ट्रम्प प्रशासनले चीनमाथिको निर्भरता घटाउने र अमेरिकी उत्पादन पुनर्जीवित गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ।

चीनको निर्यातमुखी वृद्धिको मोडल देशभित्रका चुनौतीहरूसँग पनि जोडिएको छ। घरजग्गा क्षेत्रमा आएको संकटले अर्थतन्त्रलाई सुस्त बनाइरहेका बेला आन्तरिक खपत बढाउने र स्वदेशी तथा विदेशी दुवै मागले उत्पादन क्षेत्रलाई सन्तुलित रूपमा टेवा दिने मोडल विकास गर्न चिनियाँ अधिकारीहरू प्रयासरत देखिन्छन्।