रसुवामा पर्यटकको रौनक, छ महिनामै ३२ हजार आगमन

हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनाको अवधिमा ३२ हजार ६७२ जना पर्यटकले भ्रमण गरेका छन्। ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक सौन्दर्यले भरिपूर्ण लाङटाङ क्षेत्र पर्यटकको मुख्य आकर्षणका रूपमा देखिएका छन्।

लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक तथा विदेशी पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेका हुन्। यसमध्ये पाँच हजार ८८४ जना विदेशी र २६ हजार ७८७ जना स्वदेशी पर्यटक रहेका छन्। चालु आर्थिक वर्षको अन्त्यसम्ममा पर्यटक सङ्ख्या ५० हजार पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेका थिए।

निकुञ्जका अभिलेखकर्ता केशव ढडारीका अनुसार विदेशी पर्यटकबाट रु तीन हजार र नेपाली पर्यटकबाट रु एक सयका दरले प्रवेश शुल्क लिने व्यवस्था छ। यही व्यवस्थाअनुसार पछिल्लो छ महिनामा मात्रै रु दुई करोड ३९ लाख ८८ हजार ६६० राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यकासँग नजिक रहेको रसुवामा पर्यटकको आगमन बढ्दै जाँदा गोसाइँकुण्ड, लाङटाङ र स्याफ्रु क्षेत्र विशेष रूपमा चहलपहलयुक्त बनेका छन्। जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार पर्यटक वृद्धिले स्थानीय होटल व्यवसायी, किसान, कामदारलगायत समग्र समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।