कृषि विकास बैंक र बिट्स क्राफ्टबीच ‘कोइली’ अडियो क्यूआर मेसिन उपलब्ध गराउने सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र बिट्स क्राफ्ट प्रा.लि. बीच बैंकका नेपाल पे तथा फोनपे क्यूआर प्रयोगकर्तालाई “कोइली” नामक अडियो क्यूआर मेसिन उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सहकार्यबाट डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, सहज र भरपर्दो बनाउने लक्ष्य लिइएको बैंकले जनाएको छ।

सम्झौताअनुसार ग्राहकले यस सेवाको प्रयोग गरी व्यापारी मार्फत रकम भुक्तानी गर्दा, अडियो क्यूआर मेसिनले कारोबार भएको रकमसहित मानव आवाजमा तत्काल कारोबार सूचना दिने व्यवस्था रहनेछ। यस प्रणालीमार्फत भुक्तानी प्राप्त गर्ने व्यापारी र भुक्तानी गर्ने खातावालाले कारोबार भएको रकम तुरुन्तै सुनेर पुष्टि गर्न सक्नेछन्, जसले डिजिटल भुक्तानीमा पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट सुशिल हुमागाईं र बिट्स क्राफ्ट प्रा.लि. का तर्फबाट केशब बस्नेत ले हस्ताक्षर गर्नुभएको थियो। उक्त कार्यक्रममा बैंकको बाजार ब्यबस्थापन विभागकी विभागीय प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुख अन्जु दहाल, व्यवस्थापक मणिराज ढुङ्गाना तथा बिट्स क्राफ्ट प्रा.लि. का प्रमोद सुवेदी लगायतको उपस्थिति रहेको थियो।

बैंकले यो सहकार्यले डिजिटल भुक्तानी प्रणालीलाई अझ सहज बनाउँदै व्यापारी र ग्राहक दुवैको भुक्तानी अनुभवमा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ।