अपडेटेड पल्सर २२०एफ नेपाल आउँदै, लेजेन्ड फेरि सडकमा

वर्षौँको प्रतीक्षापछि बजाज पल्सर २२०एफले बहुप्रतीक्षित अपडेट पाएको छ। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बीएस६ फेज–२ अनुरूपको अपडेटेड पल्सर २२०एफका लागि औपचारिक रूपमा बुकिङ खुला गरेको छ। यससँगै नेपाली बजारमा सबैभन्दा लोकप्रिय र ‘लेजेन्ड’ मानिएको पल्सर २२०एफको विरासतले नयाँ अध्याय सुरु गरेको छ।

भारतीय बजारमा केही समयअघि मात्र बिक्री सुरु भएको यो मोटरसाइकल नेपालमा पनि सन् २०२६ को पहिलो त्रैमासभित्रै सडकमा देखिने कम्पनीले जनाएको छ। आधुनिक प्रविधि, थप सुरक्षा फिचर र क्लासिक डिजाइनको संयोजनसहित बजाजले यो मोडललाई पुनः नेपाली युवाहरूको रोजाइमा राख्ने लक्ष्य लिएको छ।

कम्पनीले २०२६ बजाज पल्सर २२०एफको सुरुवाती मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ। उपलब्ध गराइएका नयाँ फिचर र प्रविधिका आधारमा यो मूल्य प्रतिस्पर्धी मानिएको छ। बुकिङ खुला भइसकेको र छिट्टै देशभरका बजाज शोरुमहरूबाट डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ।

नयाँ पल्सर २२०एफ चारवटा आकर्षक कलर अप्सनमा उपलब्ध हुनेछ। स्पार्कल ब्ल्याकमा गोल्डेन वा रातो ग्राफिक्स, युवामाझ लोकप्रिय भोल्कानिक रेड, प्रिमियम लुक्स दिने सैफायर ब्लु र सफा तथा आधुनिक डिजाइनका लागि पर्ल ह्वाइट रङका विकल्पहरू प्रस्तुत गरिएको छ।

फिचरका हिसाबले यस पटक पल्सर २२०एफमा आधा दर्जनभन्दा बढी नयाँ अपडेट समावेश गरिएको छ। सबैभन्दा उल्लेखनीय परिवर्तनका रूपमा पहिलो पटक शक्तिशाली एलईडी हेडलाइट र एलईडी इन्डिकेटरहरू दिइएको छ, जसले रात्री समयमा उत्कृष्ट भिजिबिलिटीका साथै बाइकलाई प्रिमियम लुक्स दिएको छ।

राइडरको सुरक्षालाई ध्यानमा राख्दै बजाजले नयाँ २२०एफमा डबल च्यानल एबीएस सिस्टम जडान गरेको छ। यसअघि उपलब्ध सिंगल च्यानल एबीएसको सट्टा अब दुवै टायरमा एबीएस उपलब्ध हुने भएकाले आकस्मिक ब्रेकिङका क्रममा टायर चिप्लिने जोखिम कम हुने र ब्रेकिङ अझ सुरक्षित हुने अपेक्षा गरिएको छ।

डिजाइन पक्षमा मोटरसाइकलले आफ्नो आइकोनिक स्वरूप कायम राखेको भए पनि नयाँ ग्राफिक्स र रङ संयोजनले यसलाई थप आधुनिक र सार्प बनाएको छ। यसले पुराना पल्सर प्रेमीका साथै नयाँ पुस्ताका राइडरहरूलाई पनि आकर्षित गर्ने विश्वास गरिएको छ।

प्रविधिका हिसाबले पनि पल्सर २२०एफ अब अझ स्मार्ट बनेको छ। यसमा पूर्ण डिजिटल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र बजाजको ‘राइड कनेक्ट’ एप सपोर्ट दिइएको छ। चालकले एलसीडी स्क्रिनबाट टर्न–बाई–टर्न नेभिगेसन, कल एसेप्ट/रिजेक्ट, एसएमएस अलर्ट, मोबाइल ब्याट्री लेभल, ट्रिप कम्प्युटर तथा डीटीई रिडआउट जस्ता जानकारीहरू सजिलै हेर्न सक्नेछन्।

इन्जिनतर्फ, नयाँ पल्सर २२०एफमा २२० सीसीको सिंगल सिलिन्डर, आयल–कुल्ड, फ्युल–इन्जेक्टेड बीएस६ ओबीडी फेज–२ कम्प्लायन्ट इन्जिन जडान गरिएको छ। यसले अधिकतम २०.४ पीएस पावर र १८.५५ एनएम टर्क उत्पादन गर्छ। परिष्कृत इन्जिनले परफर्मेन्स सुधार गर्नुका साथै इन्धन खपतलाई पनि सन्तुलित बनाउने अपेक्षा गरिएको छ।