ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङमुक्त बनाउँदै अब विद्युत निर्यात गर्न सक्षम बनाएको बताएका छन्।
इप्पानको वार्षिकोत्सव समारोहमा मन्त्री सिन्हाले नेपालको कुल विद्युत उत्पादन हाल करिब ४ हजार मेगावाट पुगेको र यसमध्ये ३३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदान भएको उल्लेख गर्दै यसलाई गर्वको विषय भएको बताए।
उनका अनुसार, ५–१० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा आज १०० मेगावाटभन्दा ठूला आयोजनासम्म पुगेको छ। ऊर्जा क्षेत्रको विकासले शिक्षा, स्वास्थ्य र स्थानीय विकासमा समेत ठूलो सहयोग पुगेको उनले बताए।
मन्त्री सिन्हाले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको जानकारी दिए। यसैगरी, भारतसँग १० वर्षभित्र १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ भने बंगलादेशमा पनि निर्यात प्रक्रिया अगाडि बढिरहेको उनले बताए।
तर कानुनी तथा नीतिगत सुधार, विद्युत खरिद सम्झौता, प्रसारण लाइन विस्तार, वन तथा जग्गा प्राप्तिका जटिलता अझै कायम रहेको उनले स्वीकारे। ‘टेक एन्ड पे’ र ‘टेक अर पे’ जस्ता नीतिमा स्पष्टता ल्याउनुपर्ने र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रियालाई सहज बनाउनुपर्ने आवश्यकता उनले औँल्याए।
उनले निजी क्षेत्रले भौतिक पूर्वाधार, अनुसन्धान, कानुनी दक्षता र जनशक्ति विकासमा पनि लगानी गर्नुपर्नेमा जोड दिए। साथै आगामी निर्वाचनमा विकासप्रेमी र ऊर्जा क्षेत्रको महत्व बुझ्ने जनप्रतिनिधि चयन गर्नुपर्ने सुझाव पनि दिएका छन्।
