सिन्धुपाल्चोक । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ बाट युवराज दुलाल ‘शरद’ लाई प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेद्वार चयन गरेको छ। विकासप्रेमी, सादगी र सरल नेताका रूपमा परिचित दुलाल पार्टीको निर्णयसँगै प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेका हुन्।
युवराज दुलाल ‘शरद’ २०७९ सालको निर्वाचनमा बागमती प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भएका थिए। प्रदेश सांसदका रूपमा उनले जनताको आवश्यकता र क्षेत्रको यथार्थ बुझेर विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका निर्वाह गरेका थिए। स्थानीय तह प्रदेश र केंद्रसँग समन्वय गर्दै सडक, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था तथा भौतिक पूर्वाधार विकासमा उनले निरन्तर पहल गरेको स्थानीयवासीसमेत बताउँछन्।
बागमती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका दुलालले आफ्नो कार्यकालमा विकास निर्माणलाई व्यवहारिक र परिणाममुखी बनाउने काम गरेका थिए। दुर्गम बस्तीमा सडक पहुँच विस्तार, अधुरा योजनाको निरन्तरता, जनताको दैनिकीसँग जोडिएका साना ठुला महत्वपूर्ण आयोजनामा बजेट सुनिश्चित गर्न उनले खेलेको भूमिका उल्लेखनीय रहेको पार्टीका नेताहरूले बताएका छन्। मन्त्रालयको जिम्मेवारीमा रहँदा पनि सादगीपूर्ण जीवनशैली र जनतासँगको प्रत्यक्ष सम्पर्कलाई निरन्तरता दिएको भन्दै उनी लोकप्रिय बनेका थिए।
पार्टीले सिन्धुपाल्चोक-२ बाट प्रतिनिधिसभा उम्मेद्वारको जिम्मेवारी दिएपछि दुलालले यसलाई जनताको सेवा गर्ने थप अवसरका रूपमा लिएको बताएका छन्। अघिल्लो कार्यकालमा प्रदेशस्तरमा सुरु भएका विकास योजनालाई संघीय तहबाट थप प्रभावकारी बनाउँदै अघि बढाउने लक्ष्यसहित आफू प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेको उनको भनाइ छ।
सिन्धुपाल्चोक-२ मा युवराज दुलाल ‘शरद’ लाई सरल, मिलनसार र विकासमा केन्द्रित नेताका रूपमा चिनिन्छ। जनताको समस्या सुन्ने, समाधानका लागि सम्बन्धित निकायसम्म पुग्ने र परिणाम निकाल्ने शैलीका कारण उनी स्थानीय तहदेखि युवापंक्तिसम्म लोकप्रिय रहेका छन्। विशेषगरी विकास निर्माण, सुशासन र जनजीविकाका सवालमा उनले निरन्तर आवाज उठाउँदै आएको स्थानीय जनताहरुको भनाइ छ।
जनताको संघर्ष, त्याग र बलिदानबाट स्थापित कम्युनिस्ट आन्दोलनको मूल्य-मान्यतालाई आत्मसात् गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) समानता, सामाजिक न्याय र समृद्ध समाज निर्माणको लक्ष्यसहित अघि बढिरहेको छ। सोही विचारधाराको प्रतिनिधित्व गर्दै युवराज दुलाल ‘सरद’ ले सिन्धुपाल्चोक-२ का जनताको जीवनस्तर उकास्न, विकासलाई गति दिन र जनताको पक्षमा दृढ रूपमा उभिन आफू प्रतिबद्ध रहेको बताएका छन्।