अनुदान लिएर मात्र हुँदैन, उत्पादन र रोजगारीमा परिणाम देखाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

  • Clock icon
    २०८३ कार्तिक २०, शुक्रबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्टार्टअप तथा उद्यमशीलताको प्रवर्द्धनका लागि सरकारले उपलब्ध गराउने अनुदान र सहयोगको प्रभावकारी सदुपयोग हुनुपर्ने बताएका छन्। अनुदान प्राप्त गर्नु मात्र उपलब्धि नभई त्यसबाट उत्पादन, व्यवसाय विस्तार र रोजगारी सिर्जना भएको देखिनुपर्ने उनको भनाइ छ।

पोखरामा आयोजित स्टार्टअप समिट नेपाल २०२६ गण्डकी प्रदेशको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री पाण्डेले विगतमा विभिन्न क्षेत्रमा अनुदान वितरण भए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको अनुभव सुनाए। उनले सरकारी सहयोगलाई वास्तविक उत्पादन र परिणामसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार गण्डकी प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान तथा समान सहभागितामा आधारित अनुदानको व्यवस्था गर्दै आएको छ। उद्योगी र किसानबीच समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्न प्रदेश सरकारले पुलको भूमिका निर्वाह गरिरहेको उनले बताए।

स्टार्टअप गण्डकी कार्यक्रममार्फत नयाँ व्यवसाय सुरु गर्न चाहनेलाई सहयोग उपलब्ध गराइए पनि कतिपयले सुरुवाती उत्साह र प्रतिबद्धताअनुसार कामलाई निरन्तरता दिन नसकेको उनले टिप्पणी गरे।

‘अनुदान वा सहयोग प्राप्त गर्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई सदुपयोग गरेर उत्पादन र रोजगारीमा परिणाम देखाउन सक्नुपर्छ,’ उनले भने।

मुख्यमन्त्री पाण्डेले देश निर्माणका लागि पुराना पुस्तालाई आलोचना गरेर मात्र नहुने भन्दै युवालाई नयाँ सोच, क्षमता र काम गर्ने प्रतिबद्धतासहित अगाडि आउन आग्रह गरे। नयाँ पुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्दै उद्यमशीलता र उत्पादनमा योगदान दिनुपर्ने उनको भनाइ थियो।

उनले स्टार्टअप सञ्चालन गर्ने युवाले सरकारी सहयोगलाई अवसरका रूपमा लिएर त्यसलाई दिगो व्यवसायमा रूपान्तरण गर्नुपर्ने सन्देशसमेत दिएका छन्।

  • Clock icon
    २०८३ कार्तिक २०, शुक्रबार