–न्युज एजेन्सी नेपाल
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निजी क्षेत्रलाई पावर ट्रेडिङ र प्रशारण लाइन सञ्चालनमा सहभागी गराउन प्राधिकरण सकारात्मक रहेको बताएका छन्। स्वतन्त्र उर्जा उत्पादक संघ (IPPAN) को वार्षिकोत्सव समारोहमा बोल्दै शाक्यले आन्तरिक बजारमा खपत नहुने बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई लाइसेन्स दिने तयारी अघि बढिरहेको जानकारी दिएका हुन्।
उनका अनुसार, प्राधिकरणसँग भएका पीपीएहरूमा गरिएको गृहकार्य मुख्य रूपले आन्तरिक बजारमा खपत नहुने बिजुली भारतलगायत बाह्य बजारमा विक्री गर्न केन्द्रित थियो। यही पहलले निजी क्षेत्रलाई बिजुली विक्रेताका रूपमा भित्र्याउने पहिलो कदम भएको शाक्यले बताए। साथै, प्रशारण लाइनमा पनि निजी क्षेत्रको सहभागिता बढाउने तयारी भइरहेको उनले जानकारी दिए।
शाक्यले बताएअनुसार, निजी क्षेत्रलाई प्रशारण लाइनमा खुला पहुँच दिन ब्रेकथ्रु भइसकेको छ र सरकारले केही मोडलहरू पास गरिसकेको छ। यद्यपि, ट्रान्समिसन चार्ज निर्धारणको विषय अझै छलफल चरणमा रहेको उनले उल्लेख गरे। नियमावली नबन्दा, नेपाल पावर ट्रेडिङ कम्पनीलाई वैकल्पिक रूपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको छ। यस कम्पनीले आवश्यकताअनुसार सरकारी कम्पनीबाट बिजुली खरिद गरेर आन्तरिक बजार तथा भारतमा विक्री गर्न सक्नेछ।
कार्यकारी निर्देशक शाक्यले भने–
“पावर ट्रेडिङ र प्रशारण लाइन अपरेटरको हिसाबले निजी क्षेत्र आउनका लागि प्राधिकरणले गृहकार्य गरिसकेको छ। आन्तरिक बजार र भारतमा बिजुली बिक्री गर्न पीपीए गृहकार्य गरिएको थियो। निजी क्षेत्रलाई पावर ट्रेडिङमा ल्याउन खुला पहुँच अपरिहार्य छ। नियमावली नबन्दा वैकल्पिक रूपमा नेपाल पावर ट्रेडिङ कम्पनी सञ्चालनमा ल्याइएको छ।”
त्यसैगरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ताहरूले चासो देखाइरहेको र २०० मेगावाटभन्दा माथिका आयोजनामा लगानी भइरहेको बताए। उनले भने कि बोर्डले ढिलासुस्ती हटाएर फास्ट ट्रयाकमा सहजीकरण गर्दै आयोजना अघि बढाइरहेको छ।
ज्ञवालीले भने–
“लगानी बोर्डले व्यवस्थापन र सुपरीवेक्षणको काम मिलाएर आयोजनाहरू अघि बढाइरहेको छ। ऊर्जा मन्त्रालय र सरोकारवाला निकायसँग समन्वय गर्दै प्रोजेक्टहरू जोड्ने काम भइरहेको छ, जसले फास्ट ट्रयाकमा काम हुनेछ।”
