काठमाडौँ । सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा सुदर्शन आचार्यसहित विभिन्न पत्रकारहरूलाई पुरस्कृत तथा सम्मानित गरेको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुर्यचौरमा आयोजित विशेष समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले ती पुरस्कार तथा सम्मानहरू प्रदान गर्नुभयो।
वरिष्ठ पत्रकारद्वय सम्मानित समारोहमा लामो समयदेखि पत्रकारिता र राजनीतिक विश्लेषणमा सक्रिय वरिष्ठ पत्रकार सुदर्शन आचार्य र वरिष्ठ पत्रकार शरदचन्द्र वस्तीलाई ‘सम्पादक समाज नेपाल सम्मान’ प्रदान गरियो। सम्मान ग्रहण गर्दै वरिष्ठ पत्रकार आचार्यले पत्रकार सधैँ सत्यको पक्षमा उभिनुपर्ने र कसैको डर वा दबाबमा परेर सत्य लुकाउन नहुनेमा जोड दिनुभयो। अर्का सम्मानित व्यक्तित्व वस्तीले पछिल्लो समय पत्रकारितामा तथ्य र गम्भीरताभन्दा हल्कापन हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
गोविन्द वियोगी पत्रकारिता पुरस्कार यसैगरी, रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपाललाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार-२०८२’ प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि २५ हजार एक रुपैयाँ र सम्मानपत्र रहेको छ। पुरस्कृत व्यक्तित्व डा. नेपालले पत्रकारिताको स्तर खस्किँदा समाजमा गम्भीर असर पर्ने भएकाले यसको सुधारमा सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
विशेष पत्रकारिता पुरस्कार समारोहमा दुई जना पत्रकारलाई ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरियो। वातावरण संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा योगदान पुर्याएबापत गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल र नेपाल भाषामार्फत पत्रकारितामा योगदान दिएबापत ‘शुक्रवार या तंसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धर सम्मानित हुनुभएको हो। यो पुरस्कारको राशि जनही १५ हजार एक रुपैयाँ र सम्मानपत्र रहेको छ।
लोकतन्त्र र पत्रकारिताको सम्बन्ध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रलाई सुदृढ बनाउन पत्रकारिताको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले स्वर्गीय गोविन्द वियोगीले लोकतन्त्र स्थापनाका लागि पत्रकारितामार्फत पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले सम्पादक समाजसँगको सहकार्यले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताउनुभयो। प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले पुँजी र प्रविधिको दबाबका बीच मर्यादित पत्रकारिता जोगाउनु चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो। समारोहमा नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष टंक पन्त, सम्पादक समाजका संरक्षक किरण वैद्य र महासचिव श्याम डोटेललगायतले पत्रकारिताका समसामयिक चुनौतीबारे चर्चा गर्नुभएको थियो।
